कमल मादेन
नेपालमा पहाडे र मधेसी गरी जम्मा १५ दलित जात छन् भन्ने जानकारी जनगणना तथ्यांकमा आधारित पुस्तक तथा अनुसन्धानात्मक प्रतिवेदनमा उल्लेख भएको पाइन्छ । तर, राष्ट्रिय दलित आयोगले नेपालमा लगभग दुई दर्जनजति दलित जात भएको जानकारी विभिन्न प्रकाशनमार्फत सार्वजनिक गर्दै आएको छ । पछिल्लोपटक अद्यावधिक गरिएको प्रस्तावित अनुसूचीमा दलितअन्तर्गत २६ जात छन् भन्ने जिकिर छ । आयोगले दलित ठहर गरेका जात उता जातजातिबारे लेखिएका केही पुस्तक तथा अनुसन्धानात्मक प्रतिवेदनमा गैरदलित हुन् भन्ने छ । यसरी एकै जातजातिलाई दलित र गैरदलितका रूपमा समूहकृत गरिनु हास्यास्पद सन्दर्भ हो । अर्कोतिर, त्यसले सामाजिक सद्भाव खलबलाउन सक्छ । दुर्गमका गाउँघरमा दलित र गैरदलित एकै ठाउँ बसेर खानपिन गर्ने सामाजिक सद्भाव अझै भइसकेको छैन । तसर्थ, माथि भनिए जस्तो गैरदलित भनिएका जातलाई राष्ट्रिय दलित आयोगले दलित भनेर दाबी गर्नु सामान्य होइन । यो विवादस्पद जानकारी थाहा पाउनेका निम्ति कि विज्ञले लेखेका विवरण वा आयोगको दाबीमध्ये एक पक्कै झूटो छ भनेर बुझ्नुबाहेक अर्को विकल्प छैन । यस लेखमा कुनकुन जातिका सामाजिक पहिचान विवादित छन् भन्ने सन्दर्भ चर्चा गरिँदै छ । दलित तथ्यांक १९१० सालमा मुलुकी ऐन जारी हुँदा पानी नचल्ने भनेर कसाई (मासु, दूध व्यापारी), कुसुले (संगीत तथा सिलाइ गर्ने), कुलु (छाला सम्बन्धी काम गर्ने), पोडे (माछा मार्ने) र च्यामखलक (सरसफाइ गर्ने) भनेर पाँच समूहमा दलितलाई विभाजन गरिएको थियो । नेपाल सरकारले ०५९ चैत ५ गते राष्ट्रिय दलित आयोग गठन गरेपश्चात् आयोगले ‘हिन्दु वर्णाश्रम जाति व्यवस्थाअन्तर्गत १९१० सालको मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नुपर्ने जाातजाति भनी जातीय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा धार्मिक रूपमा राज्यको मूल प्रवाहबाट पछाडि पारिएका जाजातिका समुदायलाई दलित भनिन्छ’ भन्ने परिभाषा गरेको छ । आयोगले २०५९ सालमा सर्वप्रथम पहाडे ५ र मधेसी १७ दलित जाति छन् भन्ने प्रस्तावित अनुसूची प्रकाशन गरेको थियो । पहाडे दलितमा गाइने, परियार, बादी, कामी र सार्की तथा मधेसीतर्फ कलर, ककैहिया, कोरी, खटिक, खत्वे, चमार, चिडिमार, डोम, तत्मा, दुसाध, धोबी (रजक) हिन्दु, पत्थरकट्टा, पासी, बाँतर, मुसहर, हल्खोर र सरभंग (सरबरिया) समावेश गरिएका थिए । त्यसपछि प्रस्तावित दलित अनुसूची थपघट भए । पछिल्लोपटक राष्ट्रिय दलित आयोगले प्रकाशित गरेको ‘दलित समुदाय समावेशी अधिकारसम्बन्धी विशेष व्यवस्था गर्न बनेको विधेयक २०६८’ (प्रस्तावित मस्यौदा) र आयोगकै ‘वार्षिक प्रतिवेदन’– २०६९/०७० मा पहाडे ७ र मधेसी १९ दलित जात भन्ने छ । यता झबीन्दप्रसाद पाण्डे, मेघराज ढकाल, सुजन कार्की, प्रदीप पौडेल र मिता सैंजु प्रधानले मातृशिशु स्वास्थबारे गरेका एक अनुसन्धानात्मक प्रतिवेदन (सन् २०१३) मा चमार/हरिजन, मुसहर, दुसाध/पासवान, तत्मा, खत्वे, धोबी, बाँतर, चिडिमार, डोम र हल्खोर गरी जम्मा १० जातलाई मात्र मधेसी दलित हुन् भन्ने छ । हर्क गुरुङ, योगेन्द्र गुरुङ र छविलाल चिडीत्रयले सन् २००१ को जनगणनाको तथ्यांकका आधारमा ‘नेपाल एटलस अफ इथ्निक एन्ड कास्ट ग्रुप्स्’ (सन् २००६) लेखेका थिए । उक्त पुस्तकमा उल्लेखित पहाडे ५ र मधेसी १० दलित जात समावेश छ । झवीन्दप्रसाद पाण्डे र अरूले प्रस्तुत गरेका दलितसम्बन्धी विवरण पनि त्यही नै हो । यद्धपि पाण्डे र अरूको अनुसन्धान प्रतिवेदनमा सन् २०११ को जनगणनाको तथ्यांकका आधारमा विभिन्न जातजातिको मातृशिशु स्वास्थ्य अवस्था विश्लेषण गरिएको बताइएको छ । जातजातिका जनसंख्या र बसोबास भूगोलबारे बृहत् जानकारी दिने पुस्तक मुक्तासिंह तामाङ र ओम गुरुङ सम्पादित ‘सोसल इन्क्लुजन एटलस अफ नेपाल : इथ्निक एन्ड कास्ट ग्रुप्स’(सन् २०१४) लाई मानिन्छ । पुस्तकमा दलित जात संख्याबारे झवीन्दप्रसाद पाण्डे र अरूहरूकै प्रतिवेदनमा उल्लेख गरिएका सूचीलाई अंगीकार (एडप्टेड) गरिएको उल्लेख छ । तर मधेसी दलित जातका उपनाम भने थप गरिएका छन् । जस्तो पाण्डे र अरूहरूले उल्लेख गरेको बाँतरलाई बाँतर/सर्दार, चमार/हरिजनलाई चमार/हरिजन/राम, दुसाध/पास्वानलाई– दुसाध/पास्वान/पासी र तत्मालाई – तत्मा/तत्वा लेखिएको छ । राष्ट्रिय दलित आयोगले पछिल्लोपटक अद्यावधिक गरेको प्रस्तावित दलित अनुसूचीमा मुक्तासिंह तामाङ र ओम गुरुङ सम्पादित पुस्तकमा उल्लेखित दलित जातहरूका अतिरिक्त पोडे (देउला, पुजारी, जलारी) र च्यामे (कुचीकार, च्याम्खल) थप गरी पहाडे दलिततर्फ सात जात छन् । पोडे र च्यामे नेवारी दलित जात हुन् । जनगणनामा नेवारकै रूपमा गणना हुँदै आएका छन् । त्यसैगरी माथि उल्लेख अतिरिक्त प्रस्तावित अनुसूचीमा कलर, ककैहिया, कोरी, खटिक (मण्डल, खङ), पासी, सरभङ (सरवरिया), नटुवा, ढाँडी र धरिकर/धन्कारसहित जम्मा १९ जात मधेसी दलित हुन् भन्ने हो । नभेटिएका ३ दलित जात आयोगले प्रस्तावित गरेको दलित जातमध्ये जनगणनाको तथ्यांकमा अझैसम्म ककैहिया, खटिक र पासी सूचीकृत भएको छैन । ककैहिया जातको वास्तविकता के हो भन्ने सबैभन्दा बढी अन्योल छ । समता फाउन्डेसनले प्रकाशन गरेको ‘समता नीति–पत्र ९’ मा ककैहिया जातको प्रचलित थर ‘राय’ भन्ने छ । त्यसबाहेक ककैहियाबारे अन्य विवरण उल्लेख भएको पाइँदैन । छिमेकी मुलुक भारतको ‘रिजरभेसन्स फोर ब्याकवार्ड क्लासेस् अर्थात मण्डल कमिसन रिपोर्ट (सन् १९८०) लगायत अन्य दलितसम्बन्धी पुस्तकहरूमा पनि ककैहियाबारे लेखिएको भेटिँदैन । तर अनौपचारिक सेवा केन्द्र (इन्सेक) को एक अभिलेखमा वेचन ककैहिया लेखिएको भेटिन्छ । दलितबारे खोज अनुसन्धानकर्ता भोला पास्वानका अनुसार सिरहास्थित मोहनपुर गाविसमा ३०,४० घर ककैहियाको बसोबास छ । उनीहरू मूलत: बाँसको काम गर्छन् । उनीहरू आफू राय हांै भन्ने दाबी गर्छन् । यादवले अक्सर राय लेख्छन् । तर उनीहरू यादव भने होइनन् । जनगणनाको तथ्यांकमा उल्लेख नभएको अर्को दलित जात खटिक हो । ‘पिपुल अफ इन्डिया : महाराष्ट्र’ (सन् २००४) भाग २ अंक ३० अनुसार खटिक संस्कृत शब्द खट्टिकाबाट बनिएको हो । त्यसले जनावर मारी मासुको व्यापारबाट जीविका गर्ने भन्ने जनाउँछ । भारतस्थित महाराष्ट्रको अधिकांशजसो खसीको मासु बेच्ने खटिक हुन् । त्यहाँ खटिक दलित अनुसूचीमा छ । गुजरात र महारष्ट्रका खटिक मुस्लिम हुन् भन्ने लेखिएको भेटिन्छ । पाकिस्तानमा मुस्लिम नै मानिन्छ । तराई मधेसमा तिनीहरू के कति संख्यामा छन्, जानकारी छैन । राष्ट्रिय दलित आयोगले एक अर्को दलित दाबी गरेको जात पासी हो । पासीबारे पनि अन्योल छ । मुक्तासिंह तामाङ र ओम गुरुङ सम्पादित पुस्तकमा पासीलाई दुसाध/पास्वान/पासी लेखिएको माथि नै चर्चा गरियो । त्यसको अर्थ दुसाध, पास्वान र पासी एकै जात हुन् भन्ने हो । तर प्राप्त जानकारीअनुसार पासी एक छुट्टै जाति हो । मानवशास्त्रीहरूले बीसौं शताब्दीको सुरुतिर ‘पासा’ भन्ने शब्दबाट पासी नामकरण गरेका हुन् । ‘पासा’ ले डोरीको घेरा वा आकृति भन्ने जनाउँछ । विवादस्पद ६ दलित जात माथि उल्लिखित तामाङ र गुरुङ सम्पादित पुस्तकमा कलर, कोरी, सरवरिया (सरभङ), नटुवा, ढाँडी र धरिकर/धन्कार मधेसी अन्य जातअन्तर्गत समावेश छ । ‘पिपुल्स अफ इन्डिया’ शीर्षक पुस्तक भाग २, अंक ३० मा जनाइएअनुसार भारतको उत्तर प्रदेशमा कलर जातलाई कलाल र जैसवाल/जैस्वार भनिन्छ । विहारमा कलोवार, उरिसामा जैन कलर अथवा डाड्सेना र बम्बैमा कलिज अथवा कलनस् भनिन्छ । कलर जातले भारतमा अक्सर मादक पदार्थको व्यापार गर्ने गरेको बताइन्छ । कलरले छोएको पानी भारतका परम्परावादी ब्राह्मणले पिउँदैनन् । नेपालमा कलर जात सिरहा, सप्तरी, महोत्तरी, नवलपरासी, मोरङ, सर्लाही, धनुषा, झापा आदि जिल्लामा बसोबास छ । समता फाउन्डेसनको प्रकाशनअनुसार कलर जातिले सरवरिया र विकाउ थर लेख्छन् । राष्ट्रिय दलित आयोगको प्रस्तावित अनुसूचीमा सरवरियालाई एक छुट्टै दलित जात भन्ने छ । जनगणना तथ्यांकअनुसार सरवरिया चार हजार नौ सय ६ संख्यामा छन् । समता फाउन्डेसनको प्रकाशनमा सरवरिया जातिका थर धामी, सरभोर, सरभङ, नट हो । बाँतर सरवरियाको एक थर भन्ने पनि उल्लेख छ । जब कि बाँतर एक छुट्टै मधेसी दलित जात हो । त्यसैले आयोगले यसबारे स्पष्ट पार्नैपर्छ । सरवरियाको कुल संख्यामध्ये सुनसरी र मोरङमा ८५ बसोबास छ । धनुषाका राजेन्द्र महतो नै सरवरियाबारे अध्ययन अनुसन्धान गर्ने पहिलो व्यक्ति हुन् । सामाजिक समावेशीकरण अनुसन्धान कोष (सिर्फ) मार्फत महतोले अनुसन्धान सन् २०११ मा गरेका थिए । महतोले सरवरिया जात उत्पतिबारे केही प्रसंग लेखेका छन् । उहिले दुई भिन्न सामाजिक पहिचान भएका जात अर्थात भिन्दाभिन्दै जातबीच प्रेमविवाह भए त्यस्ता जोडीलाई केटा र केटी दुवैका समाजले स्विकार्दैनथ्यो । उनीहरू नयाँ ठाउँमा गएर बस्न बाध्य हुन्थे । त्यस्तो सबै ठाउँमा हुन्थ्यो । त्यस्ताका सन्तान सरवरियाका रूपमा चिनिन्छन् । सुनसरीमा सरवरियालाई मण्डल पनि भनिन्छ । सरवरिया कुनै खास जात हो भन्ने प्रमाण पुग्दैन । खस आर्यमा जैसी भनेजस्तै हो । तराई मधेसमै अक्सर नसुनिएको जात कोरी हो । कोरीलाई मधेसी अर्को जात कोइरी होलान् भन्ने मनग्गै भेटिन्छन् । कोरी धागोबाट लुगा बनाउने जात हो । तर कोइरीले मूलत: खेतीकिसानी गर्छन् । कोरी नेपालमा पहिलोपटक २०६८ सालको जन गणननमा सूचीकृत भएको जाति हो । उसो त राष्ट्रिय दलित आयोगले २०५९ सालमै कोरी एक मधेसी दलित हो भनेर प्रस्तावित अनुसूचीमा समावेश गरेको थियो । जनगणनाको तथ्यांकअनुसार नेपालमा कोरी बाह्र हजार दुई सय ७६ संख्यामा छन् । उनीहरूको बसोबास मूलत: कपिलवस्तु र बाँकेमा छ । तर पुस्तक तथा प्रतिवेदनमा कोरीलाई मधेसी अन्य जात हुन् भनिएको छ । एकै ठाउँमा स्थिर भएर बसोबास नगर्ने, चराचुरुंगी, स्याल आदि मार्दै आफ्ना सबै सरसामान, कुखुरा, कुकुर आदि लिएर हिंडिरहने समुदाय तराई मधेसतिर नट जातका रूपमा चिनिन्छन् । तिनीहरू मुस्लिम दलित हुन् । तिनीहरूले कतैकतै नाचगान गर्ने गरेको पनि पाइन्छ । जनगणनामा नट उल्लेख छैन । नटुवा भने उल्लेख छ । नटुवाको बसोबास झापादेखि कञ्चनपुरसम्मै छ । तर घनत्व भने बारा, पर्सा, सर्लाही जिल्लामा छ । उनीहरू हिन्दु हुन् । तराई मधेसतिरका बासिन्दाहरूको नट र नटुवा एउटै हुन् भन्ने बुझाइ छ । भारतमा नट जाति विहार, उत्तरप्रदेश, पन्जाब आदि प्रान्तमा छन् । नट संस्कृत शब्द नाटाबाट बनिएको हो । संस्कृतमा नाटाको अर्थ नृत्य लाग्छ । उहिले उनीहरूले राजामहाराजाहरूलाई गीत तथा नृत्य देखाउने गर्थे । भारतका विभिन्न गाउँमा सडक नाटक, संगीत तथा डोरी नाच नटुवाहरूले देखाउने गर्छन् । नटुवा र नट एकै हो वा भिन्दाभिन्दै हुन्, स्पष्ट छैन । राष्ट्रिय दलित आयोगले नटुवालाई मधेसी दलित र मुक्तासिंह तामाङ र ओम गुरुङ सम्पादित पुस्तकमा मधेसी अन्य जात भन्ने जनाएका छन् । ढाँडीको बसोबास सुनसरीदेखि कञ्चनपुरसम्मै छ । तर पनि रूपन्देही र कपिलवस्तुमा बसोबास बढी छ । तिनको कुल संख्यामध्ये रूपन्देहीमा ५९ प्रतिशत बसोबास छ । नवलपरासी, रूपन्देही र धनुषामा बसोबास बढी छ । तिनीहरू दुई हजार छ सय ८१ संख्यामा छन् । ढाँडी मधेसी अन्य जात हो कि दलित हुन्, विवादस्पद छ । त्यसैगरी धरिकर/धन्कार पनि विवादस्पद जात हो । तिनीहरू रूपन्देही र नवलपरासीमा बसोबास छ भन्ने जनगणनाको तथ्यांकमा छ । उता भारतमा कनिस्था धन्कार सन् २०११ मा मिस इन्डिया भएकी थिइन् । उनी भारतकी मोडेल तथा अभिनेत्री पनि हुन् । भेदभाव तथा छुवाछूत जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ जारी भएको छ । त्यो दलित वर्गका निम्ति अत्यन्त सकारात्मक ऐन हो । उक्त ऐनअनुसार ‘कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय वा पेसाका आधारमा भेदभाव वा छुवाछूत व्यवहार गरेको कुनै काम गरे वा गराएमा जातीय भेदभाव तथाा छुवाछूत गरेको मानिनेछ ।’ त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रूपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । अदालतले कसुरदारबाट पीडितलाई पच्चीस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म क्षतिपूर्ति भराइदिन सक्छ । संविधानको धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हकमा लेखिएको छ– कुनै पनि व्यक्ति निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिनेछैन । संविधानमा उल्लेख भए पनि छुवाछूत रोकिएको छैन, बरु दलित कोको हुन् भन्ने सवालमै अन्योल छ । अन्तमा, नेपालम दलितबारे धेरै अध्ययन अनुसन्धान भएको छ । विडम्बना नै भन्नुपर्छ, अझैसम्म ककैहिया, खटिक, पासी, ढाँडी, धरिकर/धन्कार जातबारे जानकारी नै छैन । त्यस अर्थमा राष्ट्रिय दलित आयोग अझै अन्योलमै छ । तथ्यांक विभाग दलित जातबारे बेखबरै जस्तै छ । उसको तथ्यांकमा अझै एक लाख पचपन्न हजार तीन सय ५४ जना दलितको जात पहिचान हुन नसकेको उल्लेख छ । तसर्थ, दलित जातबारे बृहत् अध्ययन अनुसन्धान हुन जरुरी छ ।
कान्त्पिुर दैनिकबाट
टिप्पणियाँ
एक टिप्पणी भेजें