जेष्ठ २२, २०७३- तागाधारीले गायत्री जपेजस्तै समाजको एउटा ठूलो हिस्साले दलित समुदायको मुक्तिको सन्दर्भमा रट्ने मिथक हो, निधारमा शब्दको ठप्पा ठोकेर आफंैले आफूलाई किन दलित भन्ने ? यी कुराको पैरवी गरिरहनेहरूलाई हेक्का हुन जरुरी छ कि दलित शब्द तीन हजार वर्ष पूर्वदेखि वेदमा उल्लिखित वर्ण व्यवस्थाले छुट्याएको शूद्र शब्दजस्तो होइन । मालिकले दासलाई हेपेर राखेको नाम र जातजस्तो छुद्र शब्द पनि होइन । बरु बीसौँ शताब्दीको छुवाछूतविरोधी आन्दोलनले सिज्र्याएको संवेदनशील शब्द हो । दलित शब्दलाई पैतालाले कुल्चने हो कि छातीमा टाँस्ने भन्ने कुराको निक्र्योल गर्नुभन्दा पहिला केही ऐतिहासिक तथ्य बुझ्न जरुरी छ । प्रथमत: यो धर्तीमा मान्छे कुनै दैविक कारणले नभई जैविक कारणले सृष्टि भएको चेतनशील प्राणी हो । सबै मानिस एकै प्रक्रियाबाट उत्पत्ति भएका प्रकृतिका उपज हुन् । तसर्थ, कुनै वर्ग, वर्ण, जाति तथा वंशबाट जन्मँदैमा कोही पवित्र र कोही अपवित्र । मान्छे जातीयताका कारणले न कोहीभन्दा सानो हुन्छ, न कोहीभन्दा ठूलो । को हो दलित ? ‘सबै जाति मानव हो, मानव जाति एकै हो,’ भन्ने कुरामा ढुक्क हुनुपर्यो । सामाजिक, राजनीतिक हक बराबरी प्राप्त गर्नु आम नागरिकको नैसर्गिक अधिकार हो भन्ने कुरामा स्पष्ट हुनुपर्यो । यति मात्र आत्मसात् गरियो भने मानसिक रूपमा दलित शब्दबाट हुँदैन । आतंकित बन्दै आफू दरिद्र हुन पुगेको आभास हुँदैन । दलित शब्दको उत्पत्ति र विकास भेदभावपूर्ण वर्ण व्यवस्था र छुवाछूतजन्य जातीय संस्कारको जन्मभूमि हो भारत । त्यहीं जन्मेका दलित समुदायका युगपुरुष डा.भीमराव अम्बेडकरको नेतृत्वमा भएको बीसौं शताब्दीको बृहत् दलित आन्दोलनले स्थापित गरेको शब्द हो दलित । अर्जल (छुवाछूत) जन्य बहिष्कारले पिल्सिएका समग्र उत्पीडित समुदायलाई एउटै शब्दले सम्बोधन गर्न रचिएको शब्द हो दलित । हिन्दु वर्ण विभाजनमा शूद्र नामकरण गरिएका अनेक जातलाई एकै सूत्रमा समेट्दै संघर्षमा उतार्न कुन शब्दको साझा नाम उपयुक्त होला भनेर चलाइएको लामो बौद्धिक बहसपछि संघर्षकै मैदानबाट दलित नेतृत्वहरूले निर्धारण गरेको शब्द हो दलित । हिनताको सिकार केही मानिसको मस्तिष्कमा दलित शब्दले यति ठूलो आघात पुर्याएको छ कि, उनीहरूलाई लाग्छ दलित शब्द भनेको अत्यन्तै तुच्छ शब्द हो, घृणित शब्द हो, कालो धब्बा हो । मान्छेले आफ्नो पहिचानबाट दलित शब्द हुत्याइदियो भने मानौं त्यहींबाट जातीय कलंक मेटिन्छ ।
अनि यो समुदाय स्वत: मुक्त हुन्छ । शब्द फेरेपछि मान्छेको मति फेरिन्छ र समाजै फेरिन्छ । यसरी जाति र पहिचानप्रति घृणा जागेर पदावली फेर्ने क्रममा जस्तै कामीको ठाउँमा विश्वकर्मा भन्न थालियो । विश्वकर्मा पनि कामी नै रहेछ भनेर भेदभाव उही गरेपछि थर लेख्न थालियो । रसाली, बराली, पौडेल, गोतामे, शिवा आदि । यस्ता थर पनि उनै शूद्र वर्णका जातका रहेछन् भन्ने खुलेपछि फेरि थर बटारेर रसालीलाई रिसाल, बरालीलाई बराल, गोतामेलाई गौतम, शिवालाई शिवाकोटी बनाउन थाले, अझै काला पौडेलको काला झिकेर पौडेल, घर्ती घिमिरेको घर्ती झिकेर घिमिरे मात्र राख्ने, कसाहीले क काटेर साही, दराईले द काटेर राई मात्र लेख्नेजस्ता कीर्ते कलेवर लगाउने लहड ब्यापक चले । यति गरेपछि हिजो खोटा मोहर भएको मान्छे आज रेईरेई बज्ने सक्कली मुद्रा बनेको अनुभूत गर्न थाले । दलित शब्द बहिष्कार गर्ने सम्बन्धमा दलितका प्रथम मन्त्री हीरालाल विश्वकर्मा अघिल्लो पंक्तिमा पर्दछन् । मुलुकी ऐन, २०२१ मा जातीय भेदभाव निषेध भएपछि र ‘राजा महेन्द्रले मेरो छोरीको विवाह भान्छामा ज्युनार गरिसकेपछि कहाँ रह्यो नेपालमा छुवाछूत प्रथा ? जसले आफूलाई दलित भन्छ उही हो अछूत’ भन्दै च्याँठिन्थे उनी । सबै दलित मुक्ति भइसके किन चाहियो दलित नामक संस्था ? भन्दै २०२४ मा स्थापित नेपाल राष्ट्रिय दलित जनविकास परिषद् नामक ऐतिहासिक संगठनको नाउँबाट दलित शब्दलाई पजनी गरेर उनले जनविकास परिषद् मात्र राखे । उता टीआर विश्वकर्माले भने, ‘आज दलितको लास लग्दा शंख फुक्यो भनेर दैलेखमा मलामीलाई घोचाले चुटेर गाउँ निकाला गरेका छन् । प्राय: देशैभरि दलितले पानी भर्ने कुुवा छुट्टै छ । जुन मुलुकमा सार्वजनिक मूलबाटो हिंड्नसम्म दलितलाई अधिकार छैन, जुन समाजमा मान्छेले मान्छेसँग छोइँदा सुनपानी छर्केर चोखो हुने चलन विद्यमान छ, त्यो देशमा जातीय भेदभाव मेटिएको मान्नुपर्ने ? जुन विभेद मेटाउन र समान अधिकार प्राप्तिका लागि संघर्ष गर्न दलित संगठन किन नचाहिने ?’ यसो भनेर उनले उही दलित जनपरिषद्लाई निरन्तरता दिए । त्यसपछि एउटै आमाका छोरा दुई भाइको बीच कटाक्ष भएर मृत्युघडीसम्म बोलचालै बन्द भयो । तथापि दलित संगठन चलिरह्यो । दलित शब्दप्रतिको दुराशय पञ्चायती सरकारले नेपालमा अमानवीय जातीय विभेद मेटियो भन्ने पारेर, जाति तथा रंगभेद उन्मूलन १९६६ मा हस्ताक्षर गरेर राष्ट्रसंघको सदस्य बन्नु थियो । दाता राष्ट्रबाट पर्याप्त सहयोग असुल्नुपर्ने थियो । त्यसकारण दलित शब्द र संस्थालाई डन्डा लगाएर हटाउने अभियान चलायो पञ्चायतले । त्यसको नेतृत्व गर्ने खलपात्र हीरालाललाई बनाइयो । यदि छुवाछूतजन्य जातीय अपमानमा परेका जनसमुदाय एउटै साझा नामबाट संगठित भएर अघि बढे भने त्यो आन्दोलनले जातीय विभेदको मूल जरो वर्गीय विभेदसम्म ठोकिन पुग्छ र वर्गसंघर्षले सीधै सत्तामा दखल पुर्याउन सक्छ भन्ने निचोड निकाल्यो पञ्चायती सरकारले । अनि त सामन्ती सत्तासीन वर्गले दलित शब्दलाई आँखाको कसिङ्गर मान्यो । अहिले दलित समुदायका केही नयाँ पंक्तिले र केही पुराना नेतासमेत असाध्य कटु पाराले दलित शब्द बहिष्कार गर्न उद्वेलित देखिन्छन् । दलित शब्दको विकल्पमा नेपाली, पहाडी, किसान, श्रमिक, शिल्पी आदि लेख्ने र त्यसैलाई व्यापकता दिएर आत्मरतिमा रमाउँदैछन् । आफ्नै दलित मोर्चाको राष्ट्रिय सम्मेलनमा नेत्रविक्रम चन्द (विप्लव) ले पनि ‘सामन्तले भिराइदिएको दलित शब्द किन बोक्ने, यसलाई हटाउनेबारे पनि छलफल गर्नुपर्छ’ भन्न पुगेछन् । अन्य भ्रामक चिन्तन क) औजार फाल्ने आन्दोलन– ‘हामीले युगौंदेखि चलाएका पुर्खौली पेसागत साज–साधन जे छ यसैले हामीलाई दलित बनाएको हो । अपमानको प्रतीक त्यही औजारले हो लौखा ! भन्दै गाइनेले सारंगी फोर्नुपर्छ । दमाईले दमाहा गुल्टाइदिनुपर्छ । सार्कीले बाँको भाँचिदिनुपर्छ । कामीले आरन भत्काएर घनहोत्रो मिल्काइदिनुपर्छ । पोडेले खर्पन फालिदिनुपर्छ । सबैले आ–आफ्ना जाति जनाउने औजार नष्ट गरेपछि के आधारमा कसले हामीलाई दलित भन्छन् ?’ भन्ने एउटा जमात निस्क्यो । समाज विकासको लामो कालक्रममा मानिसले आर्जेको भाषा, संस्कृति, पेसा, सीप, साधन औजारजस्ता चीजहरूलाई संरक्षण र युगानुकूल विकास गर्दै लानुपर्नेमा उल्टो नास गरेर मुक्ति खोज्नु कस्तो दिगभ्रम । ख) अन्तरजाति विवाह– ‘मुलुकमा सजाति विवाह गर्नै नपाउने कानुन ल्याउनुपर्दछ । दस वर्ष जातीय अन्तरघुलन भएपछि यस्ता छुवाछूत प्रथा निर्मूल हुन्छ’ । भन्ने तर्क राख्ने दिग्गज नेता पनि छन् हामै्रबीचमा ।विवाहजस्तो नितान्त स्वेच्छिक र निजी मामलामा हस्तक्षेप गरेर जातीय मुक्तिको अपेक्षा राख्नु कति असामाजिक कुरा । आफूखुसी अन्तरजातीय विवाह गर्नेहरू १२–१५ वर्षपछिसम्म पनि जात गन्हायो भनेर विछोडिने जोडा बग्रेल्ती छन् । तिनलाई के भन्ने । ग) पुच्छर काट्ने– नामको पछाडि थरको पुच्छर झुन्डिएर जात जनिएको हो । जातीय दोष दिने थररूपी चिन्ह काटिदिएपछि केमा समाएर कलंक लगाउँछन् । राम, कृष्ण, अर्जुन, भीष्म, शिव, पार्वती, सीता, आदिले थर, गोत्र, कैरन कहाँ झुन्ड्याएका थिए ? भन्छन् उनीहरू । जमानाका केन्द्रीय दलित नेता मनोहर बमरेलले लेखेको ‘दलित मुक्ति कसरी हुन्छ’ भन्ने ६२२ पेजको पुस्तकभरी (वर्ण व्यवस्थाको खारेजी गर्ने) थररूपी पुच्छर काटेर मुक्त हुने प्रमाण पेस गरेका छन् । पुर्खा र खलकको निसानीे थर गोत्र जातको प्रतीक नामेट पारेर मुक्ति हुन्छ भन्नु भनेको आफ्नो नाकको टुप्पो काटेपछि सबै सडेका चीजको दुर्गन्ध हराउँछ भनेजस्तै हो । घ) धर्म परिवर्तन– हिन्दु धर्म मात्र यस्तो धर्म हो जसले वर्ण, जात, जाति आदिमा विभाजन गरेर विभेद सिर्जना गर्यो । यो धर्मलाई तिलाञ्जली दिएर अन्य धर्म अवलम्बन गर्नु नै जातीय मुक्ति पाउनु हो भन्दै दलितलाई धर्म परिवर्तन गराउने अभियान पनि व्याप्त छ । धेरै दलित जातीय अपमानबाट मोक्ष पाउन ख्रिस्चियन वा अन्य धर्ममा लागेका छन् । धर्म परिवर्तन गर्दैमा जातीय मुक्ति हुने भए स्वयम् भीमराव अम्बेडकरले ५० लाख भिक्षु अनुयायी समेटेर बुद्ध धर्म अवलम्बन गरे । यो सत्य हो कि, बुद्ध धर्म उदार छ । तर हिन्दुस्थानको दलित समस्या त जिउँदै छ नि ! ङ) वादको खात– राजावादीदेखि माओवादीसम्म यो दल, यो वाद यो सिद्धान्त, यो नेता एक मात्र जातीय मुक्तिको मसिहा हो भन्नु । जस्तै : राजाले शुभराज्याभिषेकको यज्ञको चार सुरमा चार जातको चारघडा राखेर पानी खान्छन् भने समानताप्रेमी अरू को ? नेपाली कांग्रेसले धनमानसिं परियारलाई छ दशक पहिला पार्टी महामन्त्री बनाउँछ भने दलितलाई सम्मान गर्ने अरू को ? दलितलाई उपसभामुख बनाउने एमालेभन्दा दलितको इज्जत गर्ने अरू को ? एमाओवादीले विशेष अधिकारसमेतको समानुपातिक सहभागिताको सिद्धान्त प्रतिपादन गरेर सिङ्गो दलितलाई राज्य शक्तिको हकदार बनायो दलित पक्षधर अरू को ? आदि इत्यादि । यसरी कुनै एक शक्तिलाई मात्र निरपेक्ष मुक्ति दाता मानेर सबैले उनकै जामा पहिरेर नाचेपछि मुक्ति निश्चित मान्नु पनि भ्रामक चिन्तन नै हो । वस्तुपरक सोच मानिसको अन्तर्यमा गडेको रुढीग्रस्त पुरातनी संस्कारलाई भत्काउने र भौतिक यथार्थलाई आत्मसात् गरेर संघर्षमा होमिएपछि मात्र नयाँ समाज निर्माण हुन्छ । तब मात्र समाज परिवर्तन हुन्छ । समतामूलक समाज निर्माणका लागि तिनै उत्पीडित वर्गको सचेतता एवं एकताबद्ध आन्दोलनको खाँचो हुन्छ । सत्य कुरा के हो भने आजसम्म वञ्चितिमा पारिएका ती समुदायलाई प्राकृतिक सम्पदामा, उत्पादनका साधनमा, आय आर्जनको स्रोतमा, राजनीतिक अधिकारमा, सामाजिक–सांस्कृतिक मूल्य–मान्यतामा, शिक्षा, स्वास्थ्य, रोजगारी तथा राज्यका सबै निकायमा समानताका लागि विशेष अवसरको भागीदार हुने राज्यव्यवस्था कायम हुनुपर्छ । यसो गर्नु नै जितको झन्डा फहराउनु हो । यसका लागि संघर्ष कठिन छ । तर अनिवार्य छ । रनेन्द्र बराली प्रकाशित: जेष्ठ २२, २०७३
देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ । तर दुस्मनको सामु , झुक्दैनौ हामि झुक्दैनौ ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत । बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे बुट्वल २०७६/०७/१९
टिप्पणियाँ
एक टिप्पणी भेजें