२. दलितमाथिको उत्पीडन र भेदभावको जडतत्व उनीहरूलाई "दलित" भनेर सम्बोधन गर्दा अझै हुन्छ कि भन्ने मेरो बुझाई रहेको छ । दलितलाई दलित नभनेर 'शिल्पी' भन्दा कसो होला ? ( विसु सम, हङकङ )
कतिपयलाई लाग्ने गरेजस्तो दलितलाई दलित भनेर उत्पीडन भएको हुन्थ्यो भने त नेपालमा वि.सं. २०२४ सालभन्दा अघि उत्पीडन नहुनु पर्ने किनभने त्योभन्दा अघि दलित भनिदैंनथ्यो । त्यसैले कुरा के हो भने—
एक, दलित शब्द सामन्तवादले हेपेर अपमानित गरेर दिएको नाम होइन, यो त भारतीय दलित आन्दोलनले आफ्नो बलदानीपूर्ण आन्दोलनबाट आफैंले निर्माण गरेको गौरवमय परिचय हो । त्यो नेपालमा वि.सं. २०२४ पछि प्रयोग गरिएको हो । त्योभन्दा पहिले दलितलाई ‘अछुत’, पउनी, ‘छुन नहुने जात’, ‘कुजात’ आदि भनिन्थ्यो । जसरी जनजातिले आफूलाई जनजातिको रुपमा परिचय निर्माण गर्नुभन्दा पहिले उनीहरुलाई ‘लिंडा’, ‘भोटे’, ‘किरा’, ‘चितुवा’, ‘न्यार’ आदि आदि भनिन्थ्यो ।
दुई; नेपालमा दलित शब्द राखेर संगठन दर्ता गर्न खोज्दा पञ्चायतले अस्वीकार गरेको थियो र त्यसैगरी २०४८ सालसम्म नेपालका कुनै पनि पार्टीले दलित शब्दलाई स्वीकार गरेका थिएनन् । तर, दलित आन्दोलन भने यही परिचयमा अगाडि बढिरह्यो र अन्ततः आज पार्टीहरु र अन्तरिम संविधानमा समेत दलितलाई एउटा राजनीतिक रुपमा राज्यले सम्बोधन गर्नैपर्ने सामाजिक समूहका रुपमा स्वीकार गर्न बाध्य भएको छ। दलित शब्दले खस-आर्य, मधेशी र नेवार जातिभित्रका फरक फरक संस्कृति भएका विभिन्न नाम गरेका जातका समुदायलाई साझा परिचय दिन्छ, साझा संघर्षको निम्ति मञ्च दिन्छ जसरी जनजाति शब्दले जनजातिभित्रका सबै जातिलाई साझा नाम र लड्ने मोर्चा दिएको छ । यदि दलित शब्द छोड्ने हो भने प्रत्येक जातको नाम राखेर संगठन बनाउनुपर्ने हुन्छ र आन्दोलन स्वतः कमजोर हुन पुग्दछ । जुन कुरा शासकहरु चाहन्थे र अझै चाहनेहरु बाँकी छन् ।
तीन; बुझ्नैपर्ने अर्को कुरा के छ भने ‘दलित’ र ‘अछुत’ भनेको पर्यायवाची हुँदै होइन । अछुत त्यो मानिस हो जसले छुवाछुत र उत्पीडनलाई स्वीकार गर्दछ तर जबदेखि त्यसको विरुद्धमा उभिन्छ, त्यसपछि ऊ ‘दलित’ हो । त्यसैले दलित भनेको विद्रोही पर्यावरण हो, योसँग हीनताबोध होइन गौरवको अवधारणा छ । दलित एउटा अवस्था हो, स्थायी पहिचान होइन । जब दलितमाथिका सबै उत्पीडनको अन्त्य हुन्छ, त्यसपछि दलित एउटा इतिहासको स्मरणको विषय बन्नेछ । जसरी हिजोका कमाराकमारीका सन्तान आज नेपालमा सम्मानित जीवन बाँच्दछन् । त्यो बेला कमारा प्रथा थियो भनेर आज उनीहरुलाई फरक परेको छैन, पर्ने पनि होइन । जनजाति पनि एउटा अवस्था हो, त्यो सधैं रहदैंन । दलित भनेरै उत्पीडन भएको हुन्थ्यो भने नेपालको कुनै सार्की चीन गएर आफू दलित हुँ भन्दा किन चिनियाँ समाजले अपमान गर्दैन ? किनभने चिनियाँ समाजमा जातप्रथा नै छैन । मुख्य कुरा वर्ण व्यवस्थाद्वारा निर्धारित राजनीति, अर्थतन्त्र र संस्कृतिका कारणले उत्पीडन भएको हो, त्यसैले त्यसैलाई भत्काएर समतामूलक बनाउनुतिर लाग्नु मुख्य जिम्मेवारी हो, नामका पछाडि दौडिनु सही होइन ।
चार; अब आयो दलितको सट्टा ‘शिल्पी’ भने के होला भन्ने प्रश्न । यसबारेमा के छ भने भारतमा महात्मा गान्धीले दलितको सट्टा ‘हरिजन’ अर्थात् ईश्वरका सन्तान भन्ने शब्द चलाउन खोजे तर दलितहरुले आफ्नो बलिदानद्वारा निर्मित शब्द छोड्न तयार भएनन् । नेपालमा पनि २०२४ भन्दा अघि ‘परिगणित’ ‘हरिजन’ "पिछडावर्ग" आदि शब्द प्रयोग गरियो, पछि एउटा पार्टीले ‘उत्पीडित’ शब्द पनि प्रयोग गर्यो । तर ती सबैले दलित अस्तित्वलाई प्रभावकारी ढंगले सम्बोधन गर्न सकेनन् र हराए । अब "शिल्पी" पनि त्यस्तै एउटा पार्टीले गर्न खोजेको प्रयोग बुझिन्छ तथापि त्यस पार्टीले पनि आफ्नो भ्रातृ संगठनको नाममा ‘दलित’ शब्द नै प्रयोग गरेको छ ।
कुनै समुदायलाई चिनाउन र एकताबद्ध गर्न अर्को समुदायसँग आधारभूत रुपमा नजुध्ने शब्द चयन गर्नु हुन्छ जरुरी हुन्छ, अनि त्यस परिचयमा त्यो समुदायको गौरव लुकेको भए झनै वेश हुन्छ । शिल्पीको अर्थ शिल्पकारिता गर्ने भन्ने हुन्छ । तर दलित समुदायभित्र शिल्पकारिता नगर्ने दुसाध,मुसहर, डोम, हलखोर,च्यामे, पोडे, आदि पनि छन् । त्यसैगरी शिल्पकारिताभन्दा माथिल्लो स्तरको प्राविधिक काम गर्ने समुदाय कामी पनि छ, आदि इत्यादि । त्यसैले ती हरेकलाई ‘शिल्पी’ शब्दले कसरी सम्बोधन गर्छ ? अर्कोतिर नेपालमा शिल्पकारिता गर्ने दलित मात्र छैनन्, जनजातिभित्र प्रशस्त समुदायहरु छन्, नेवारभित्र त ‘शिल्पकार’ नामको जात भन्न मिल्नेभन्ने समुदाय नै छ । तर उनीहरू दलित होइनन्। तब तिनीहरुलाई कसरी न्याय हुन्छ ? हुनै सक्दैन । त्यसकारण दलितलाई शिल्पी सम्बोधन समाजशास्त्रको कम अध्ययणबाट उब्जिएको लहडबाजी जस्तो लाग्दछ ।
आहुती
टिप्पणियाँ
एक टिप्पणी भेजें