दलित दिवसमा दलितकै खिल्ली !
मिति : २०७१ जेठ, २८ बुधबार [388 पटक पढिएको]
-कृष्णमुरारी भण्डारी |
जातीय छुवाछूत मुक्ति दिवसका दिन केही दलित पत्रकारहरूलाई लेखन तालिम दिँदै थियौं। दलित नेताहरू ग्वाग्र्वार्ती हलमा पसे। उनीहरू उभिएरै केही भन्न चाहिरहेका थिए। सहकर्मी शरच्चन्द्र वस्तीले भने, 'बस्नुस्न।' कोही मेचमा बस्दै थिए। चर्चित दलित महिला नेतृ दुर्गा सोव बोल्न थालिहालिन्, 'हामी तपाइँको कक्षालाई धेरैबेर डिस्टर्ब गर्दैनौं। हाम्रा कुरा एकछिन नसुनिभएन, त्यसैका निम्ति आएका हौं।' उनले दलित नेताहरूको परिचय गराइन्।
भनिन्- आज दलित दिवस हो। १२ दिनदेखि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदै छौं र आज त्यसैको अन्तिम दिन हो। विभिन्न सभा, समारोह र प्रदर्शनी आयोजना गरिएको छ। २०६८ साल जेठ १० गते संविधानसभाले जातीय छुवाछूत तथा भेदभावविरुद्धको एेन पारित गरेको थियो। यही दिनलाई सम्झना गर्दै बाह्रदिने अभियान सुरुआत गर्छौं। त्यस्तै २०६५ साल जेठ २१ गते संविधानसभाले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो। सबै दलित संघसंस्था मनाउने गर्छौं। जेठ महिनामै दलित मुक्तिका निम्ति एेतिहासिक काम भएका दिनहरूलाई जोडेर १२ दिनसम्मै मनाउने सुरुआत गर्यौं।
प्रधानमन्त्रीलाई बाह्रदिने अभियानबारे जानकारी दिन र दलितका समसामयिक समस्याबारे छलफल गर्न सबै दलनिकट दलितहरूले सामूहिक रूपमा भेट्ने समय पनि लियौं १५ दिन पहिल्यै। प्रधानमन्त्री सुशील कोइरालाले समय पनि दिनुभयो आज बिहान सात बजे। साढे ६ बजे प्रधानमन्त्री निवास पुग्यौं। हामीलाई बैठक कोठामा लगेर बसालियो पनि। तर साढे सात हुन लागिसक्यो प्रधानमन्त्री आउनुहुन्न। सोध्यौं, खोइ त प्रधानमन्त्रीज्यू? उनका पीएले भने, उहाँ त बाहिर गइसक्नुभयो। पीएको जवाफ र प्रधानमन्त्रीको व्यवहार देखेर हामी जिल्ल प:यौं। के गरेको यो? दलित दिवसका दिन पनि छुवाछूतवादी व्यवहार! प्रधानमन्त्रीको हेपाहा व्यवहारविरुद्ध आक्रोश व्यक्त गर्दै तीतो पोख्यौं र राज्यले गरेको छुवाछूतविरुद्धको व्यवहारलाई हामी मुद्दा बनाउँछौं भनेर निस्कियौं। आजै हामीले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन राखेका छौं। जुलुस निकाल्दै छौं र सभाको पनि आयोजना गरेका छौं। तपाइँ पत्रकारहरूले तालिममा जे सिक्नुभयो आजको हाम्रो कार्यक्रममा सहभागी बनेर प्राक्टिकल पनि गरिदिनोस्।
दुर्गा सोवले यति बताएपछि अन्य दलित नेताहरू रेम विश्वकर्मा, भक्त विश्वकर्मा, गणेश विके, रामबहादुर तिरुवा, अन्जान परियार, गौरा नेपाली, रवीन्द्र नेपालीले मुलुक छुवाछूतमुक्त भइसके पनि व्यवहार नबदलिएका अनेक उदाहरण दिए। दलितहरूलाई सबैतिर भेदभाव कायम रहेको जानकारी दिए। पार्टी, समाज, संसद् र सर्वत्र छुवाछूत व्याप्त रहेको बताए। दलितलाई गिज्याउन प:यो भने मात्र प्राय: मिडियामा न्युज बनाइन्छ भने। अनि सोधे, यस्तो विभेद राखेर कसरी बन्छ नयाँ नेपाल?
उनीहरूले भने, दलितको मुख हेर्नुपर्छ भनेर आज गणतन्त्र नेपालका प्रधानमन्त्री पनि भागे। होइन भने के नाटक हो यो? भागेर समस्या समाधान हुन्छ? एउटा प्रधानमन्त्री आउँछन्, छुवाछूतविरुद्धको ऐन ल्याउँछन्। अर्को आउँछन् छुवाछूतमुक्त राष्ट्र घोषणा गर्छन्। तर पदमा बसिरहेको प्रधानमन्त्री दलित मुक्ति दिवसमा दलितहरूलाई शुभकामना दिनु त कता हो कता भेट्न पुगेका दलित नेताहरूलाई भेट्दा छोइन्छ भनेर पन्छिन्छन् ! सरकारले, पार्टीहरूले दलित दिवस मनाएर बाँकी रहेका विभेद पनि समाप्त पार्नुपर्नेमा देशका प्रधानमन्त्री र देशकै ठूलो पार्टीका सभापतिले अपमान गरे। यसबाट हामी मर्माहत भएका छौं। हामी कामना गर्छौं, यस्ता नेता फेरि कहिल्यै देख्न नपरोस् !
दलित दिवसका दिनमा दलितहरूले व्यक्त गरेको आक्रोश बुझ्न सकिन्छ। किनभने अहिलेको संसारमा छुवाछूतजस्तो अमानवीय व्यवहार गर्नु कलंक नै हो।
महात्मा गान्धीले सय वर्षअघि नै छुवाछूतलाई महारोग भनेका थिए। उनी दलित शब्दको पनि घोर विरोधी थिए। अछूत, समाजमा हक इज्जत र प्रतिष्ठा नदिएर सामाजिक विभेद गरिएका, हेपिएका भन्ने शब्दको प्रयोग गर्नु पनि उनीहरूप्रति उपेक्षा हो भन्ने मान्यता राख्थे। उनले मानिस भएर मानिसलाई हेप्ने शब्द प्रयोग गर्नुको सट्टा 'हरिजन' शब्द प्रारम्भ गरे। जसको अर्थ हो भगवान्का सन्तान ! पछि त गान्धीले आफ्नो साप्ताहिक पत्रिकाको नामै हरिजन राखे। गान्धीले भारतलाई बेलायती उपनिवेशबाट मुक्त गर्ने स्वतन्त्रता आन्दोलनमा लाखौंलाख हरिजनलाई उतारे।
नेपालमा दलित र महिलामाथि निकृष्ट विभेद हुने गर्छ। दलितप्रति गरिने यस्तो व्यवहार कलंकै हो। मानिसलाई मानिससरह हेर्न नसक्ने, भगवान्को मन्दिरमा समेत पस्न नदिनेलाई निकृष्टतम व्यवहार भनेर मात्र पुग्दैन, यसलाई परिवर्तन गर्न लाग्नुपर्छ।
उनी प्रवचन दिन बोलाएका सभाहरूमा हरिजनको उपस्थिति छ कि छैन भनेर हात उठाउन लगाउँथे र कसैको हात नउठेको सभाबाट बोल्दै नबोली फर्कन्थे। उनी भन्थे, भारतजस्तो देशमा हरिजनलाई समावेश नगरी कुनै पनि आन्दोलन सफल हुन सक्दैन। तर हाम्रा आफूले आफैंलाई गान्धीवादी भन्ने नेताहरू?
गान्धी भावविह्वल बनेर भनिरहन्थे, म पुनर्जन्म होस् भन्ने चाहन्न तर भयो भने दलित भएर उनीहरूले भोगेको पीडा कति दर्दनाक हुन्छ र त्यसविरुद्ध लड्न कति गाह्रो हुन्छ भन्ने भोग्न चाहन्छु। त्यसैगरी महिलासँग महिला मुक्तिको कुरा गरिरहँदा घुम्टो हालेर मुख छोपिरहेका महिलालाई भन्थे, बहिनी दाइसँग कुरा गर्दा किन पर्दा? घुम्टो खोल्न लगाएर उनी कुराकानी गर्थे। उनी बालविवाहका विरोधी थिए। हिन्दुधर्मको छुवाछूतलाई उनी यो धर्मको कलंक हो भन्थे। अहिले होइन सय वर्षअघि सामाजिक व्यवहार सुधार्दै उनी कहिल्यै घाम नअस्ताउने बेलायती उपनिवेशविरुद्ध अहिंसात्मक आन्दोलन गरेर ६५ वर्षअघि भारतलाई स्वतन्त्र बनाउन सफल भए।
गान्धी कोरा सिद्धान्त फलाक्ने व्यक्ति होइनन्, उनी व्यवहारमा देखाउँथे। उनकी पत्नी कस्तुरवा गान्धी छुवाछूत हुन्छ भन्ने मान्थिन्। अनपढ कस्तुरवालाई कसरी छुवाछूत पाप हो भन्ने सिकाउने? उनले एक हरिजनकी सन्तानलाई आफ्नी छोरी बनाएर घरमै राखे। उनकी छोरी कस्तुरवाकी पनि छोरी भइन् अनि उनको परिवारमा छुवाछूतको विभेदै हरायो।
नेपालमा छुवाछूतलाई अपराध मानेर व्यवहार गर्नेहरू कति होलान् तर मैले नजिकबाट चिनेकामा समाज, परिवारमा सुधार गर्नुपर्छ मात्र नभनेर प्रयोगै गर्ने व्यक्ति थिए लेखक जगदीश घिमिरे। उनले ३० वर्षअघि नै आफ्नो घरको भान्छे गाउँका अछूत गणेश खड्गीलाई राखेका थिए। सम्पन्न र ब्राह्मण परिवारका घिमिरेका घरमा अनेक व्यक्ति आउने नै भए। आएकाहरूले चियादेखि खानासम्म तिनै दलितले दिएको खानुपथ्र्यो। उनको त्यो कदम कति उग्रवादी भयो भने त्यसविरुद्ध आवाज उठ्यो तर जगदीश डेग चलेनन्। अन्त्यमा उनीहरू परिवर्तन भए र जगदीशका घरमा खाना खान थाले। उनले आफ्नी ठुल्दिदीलाई एक दिन बोलाउँदै चिनाएका थिए, यी बहुतै धार्मिक छिन् तर यो ठूलो जात ऊ सानो जातको भनेर मानिसलाई नै अछूतको व्यवहार गर्छिन्। पछि सुनाउँदै थिए, ती दिदीले पनि मेरो घरमा खाइन्। ठूलो हाँसो हाँस्दै भने, झन्डै मलाई कठमुल्लाहरूले गाउँ बाइकट गरेका थिए। सक्षम नभएको भए मलाई गाउँबाटै लखेट्थे पनि होलान्।
नेपालमा दलित र महिलामाथि निकृष्ट विभेद हुने गर्छ। दलितप्रति गरिने यस्तो व्यवहार कलंकै हो। मानिसलाई मानिससरह हेर्न नसक्ने, भगवान्को मन्दिरमा समेत पस्न नदिनेलाई निकृष्टतम व्यवहार भनेर मात्र पुग्दैन, यसलाई परिवर्तन गर्न लाग्नुपर्छ।
घरघरमा महिलामाथि गरिने व्यवहार पनि कम विभाजनकारी छैन। जन्मदेखि नै छोरीमाथि विभेद गरिने व्यवहारले उनीहरू आफ्नै घरमा दोस्रो दर्जाका नागरिक बनाइएका छन्। महिला दलिने र पुरुष काम लगाउने मालिक झैं संस्कृति कायम छ। महिलाप्रति गरिने यस्तो भेदभाव हटाउनैपर्छ।
कानुनले समान भन्ने घोषणा गरेर मात्र नपुग्ने रहेछ। त्यसरी असमानता छुवाछूत हट्दो हो त भदौ १, २०२० देखि नै मुलुकी एेनले समाप्त पारिसकेको हुन्थ्यो। खै त समानता र छुवाछूतको अन्त्य? राजनीतिक र सामाजिक रूपमा छुवाछूतविरुद्ध लाग्नुपर्ने रहेछ। खै त कहाँ भइरहेछन् छुवाछूतविरुद्ध राजनीतिक सामाजिक आन्दोलन नेपालमा? किन कांग्रेस, एमाले, माओवादी, मधेसवादी दलहरू किन यस्तो आन्दोलन गर्दैनन्? किन सप्ताह र पुराण लगाएर पैसा संकलन गर्ने यी पार्टी दमाई, सार्की, कामी, दुसाध, चमार राखेर पूजापाठको आयोजना गर्दैनन्?
समाजमा जातीय छुवाछूत र दलितको विभाजन हटाउन भेदभाव गर्ने असंस्कृति बदल्नुपर्छ। यसलाई अन्त्य नगरी जातीय भेदभाव र छुवाछूत हट्नेवाला छैन। दलहरूले राजनीतिक अभियान सञ्चालन नगरी यो मानवीय कलंक बिदा हुँदैन। पार्टीहरूले दलितलाई भेदभाव गर्ने, असमान व्यवहार गर्ने व्यक्तिहरूलाई पार्टीमा सदस्यता दिनै रोक्नुपर्छ। राज्यका निकायमा त्यस्ता व्यक्तिलाई पठाउनु पनि हुँदैन। र, दलितहरूलाई पनि भन्नुपर्छ, आरक्षणले दोस्रो दर्जाको भनेर विभेद गरेको छ। आरक्षणमा जानेलाई लघुताबोध गराएको छ। लघुताभास हुने व्यवहार रोक्नुपर्छ अन्यथा यसले दलितविरोधी दलित उत्पादन गरिरहनेछ। जो राजा महेन्द्रको पालादेखि एकादुई दलितलाई देखाएर लाखौंलाख दलितमाथि दलित जोताउने व्यवहार गरिएकै थियो, तर भेदभाव रोकिएन। सबै दलितलाई दलितबाट मुक्त पार्नुपर्छ। एकदुईलाई मुक्त पार्ने हो भने ऊ दलित बाहुन बनेर बार्गेनिङमै लिप्त हुन्छ।
त्यसैले कानुनले दलितलाई मुक्त पार्न सघाउनेमात्र हो, दलित समुदायलाई मुक्त पार्ने सामाजिक, राजनीतिक र शैक्षिक आन्दोलनले मात्रै हो। पार्टीहरू समान र समतामूलक आन्दोलन गरून् अनि दलितको अवस्था फेरिन्छ कि फेरिन्न? जति पनि अड्डा, अदालत, स्कुल, कलेज छन्, ती सबैमा दलितलाई योग्यताअनुसार भर्ना गर। तिनलाई हाकिम, कारिन्दा, शिक्षक, नर्स, जेटिए, खरदार, मुखिया बनाऊ । यसले हिजोको सामन्ती सम्बन्ध अन्त्य गर्छ कि गर्दैन? सहरीकरण र आधुनिकीकरणले पुरानो सोच र व्यवहारलाई किनारा लगाउँछ र दलित तथा अछूतको व्यवहार अन्त्य गर्दै सबैलाई समान नागरिक बन्ने बाटो विस्तारै खोल्छ तर सामाजिक राजनीतिक आन्दोलनले यसलाई तीव्र पार्छ।
नेपालमा श्रम विभाजन हुँदा अप्ठ्यारो र शारीरिक श्रमको कामलाई निच मानिन थाल्यो। र जात हेरेर विभेद गर्न थालियो। खासमा दलित भनिएकाहरू कठोर काम गर्नेहरू हुन्। नेपालमा कामप्रति सम्मान गर्ने संस्कृतिलाई बढावा दिने हो भने जातीय रूपमा गरिएको विभेद स्वत: हराउन थाल्छ। त्यसैले कताकता लाग्छ, यहाँका ठूला जातका मानिसलाई काम गर्ने अवस्था सिर्जना गर्ने हो भने जातपातको विभाजन हराउँछ। त्यसैले यहाँका बाहुन, क्षेत्री, वैश्यलाई शूद्र बनाउने हो भने श्रमलाई सम्मान गर्ने, काम गरेर खाने संस्कृति सुरु हुन्छ कि? दलितलाई दल्ने र पद भागबन्डा गर्ने संस्कृतिबाट हाम्रो देश पनि माथि उठ्छ कि? अलमलमा परेका पार्टी पनि सुध्रिन्छन् कि? सत्ताको सेरोफेरोबाट मुक्त हुन्छन् कि? प्रधानमन्त्रीले पनि घरमा बोलाएका पाहुनाहरूसँगै भाग्नुपर्दैन कि?
टिप्पणियाँ
एक टिप्पणी भेजें